नेकपाको मण्डले शैली नफेरिए अब आन्दोलन : नेपाली कांग्रेस



काठ्माण्डौ-

नेपाली कांग्रेसले तनहुँमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमण गर्न खोजेको घटनालाई नेकपाको अधिनायकबादी सोच भएको बताएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वास्ता नगरेको भ न्दै कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तिजनक रहेको कांग्रेसको निष्कर्ष छ ।

मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने पनि बिज्ञप्तिमा जनाइएको छ ।

लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन पनि कांग्रेसले नेकपालाई चेतावनी दिएको छ ।

असोज १२, २०७६

प्रेस विज्ञप्ति

तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा। मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोे थियो । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहो¥याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेस सबैलाई आग्रह गर्दछ । मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ । लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : आश्विन १२, २०७६ आइतबार  २ : ०३ बजे