काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले शिक्षा विधेयक ढिलाई हुनुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
उनले शिक्षक महासंघसँग सरकारले गरेको प्रतिवद्धताअनुसार विधेयक पास नहुनु सरकारकै कमजोरी भएको आरोप समेत लगाए ।
उनले खोक्रा कुरा गरेर सरकारको औचित्य पुष्टि नहुने उनको टिप्पणी छ । उनले सरकारले आफ्नो औचित्य पुष्टि गर्नको लागि सुशासनको प्रत्याभुतिदेखि जनता र राष्ट्रको हित हुने काम गर्नुपर्ने बताए ।
उनले भने, ‘शिक्षक महासंंघर्ला हामीले असार १५ गतेभित्र शिक्षा विधेयक पास गर्ने भनेका थियौं । अहिले शिक्षा विधेयक कहाँ छ ? यसमा ढिलाई हुनुमा को जिम्मेवार हो ? जसको जवाफ दिन जरुरी छ । खोक्रा कुरा गरेर सरकारको औचित्य सावित हुदैन । यसरी सरकारको रक्षा कवच समेत बन्न सकिदैन । यस विषयमा सरकार गम्भीर बनोस् । ’
उनले सरकारको गैरजिम्मेवार व्यवहारका कारण कैलालीमा कैदिबन्दीबीच झडप भएको उल्लेख गर्दै कारागार सुधार कार्यविधि बनाउन सरकारको ध्यानाकर्षण गराए । —न्युज एजेन्सी नेपाल









