काठमाडौं । नेकपा (एमाले)की सचेतक सुनिता बरालले नीति निर्माण र विकास निर्माणका विषयमा दलहरूबीच सहकार्य र गम्भीर संवाद आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हून् ।
समृद्ध नेपालको परिकल्पना पूरा गर्न दलगत विवादभन्दा साझा मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
उनले सत्तापक्षबाट प्रतिपक्षमा बस्ने बित्तिकै सरकारको आलोचना गर्ने तर राम्रा कामको प्रसंशा नगर्ने परिपार्टीको अन्त्य गर्न समेत सभाको ध्यानाकर्षण गराए ।
उनले संविधान र कानूनको जवाफदेहिताका लागि तथा नागरिकका प्रश्नको समाधानका लागि एकीकृत भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले सामाजिक दायित्वअनुसार नागरिकलाई आलोचनात्मक चेतना र प्रश्न गर्न सक्ने क्षमता विकास गर्नु दलहरुको सामूहित दायित्व भएको बताए ।
उनले भने, ‘आज कानून निर्माण गर्ने विषयदेखि लिएर विकास निर्माणका सबै विषयहरुमा पक्षप्रतिपक्ष मात्रै गरिरहने हो भने हाम्रो समृद्ध नेपालको परिकल्पना पुरा हुनसक्छ ? यो हामी सबैको दायित्व होइन । हामी विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हौँला । तर आफ्नो क्षेत्रका नागरिकको प्रश्नको जवाफदेहिताका लागि र संविधान तथा कानूनको जवाफदेहितका लागि एकीकृत भएर अगाडि बढ्ने कुरामा पनि सम्मानित संसदमार्फत ध्यानाकर्षण हुनुपर्छ । नीति निर्माण र विकास निर्माणका कुरामा गम्भीर संवाद हुनुपर्ने कुरामा म विषेश जोड दिन चाहान्छु । आज हामीले सामाजिक दायित्वअनुसार दलीय विभाजनहरु घटाएर साँझा मुद्दाको सहकार्य गर्ने वातावरण मिलाउनु र शिक्षाद्वार नागरिकहरुलाई आलोचतनात्मक सामाजिक चेत र प्रश्न गर्नसक्ने बनाउनु हाम्रो दायित्व बनेको छ । तर हाम्रो चेत र समय गालीगलौज गर्ने कुरामा तल्लिन भइरहेका छन् ।’
पछिल्लो समय राजनीतिक दलहरुले व्यक्तिगच गालीगलौजमा समय खर्च गरिरहेको उनको टिप्पणी छ । —न्युज एजेन्सी नेपाल









