५२ वर्षको उमेरमा कलेज भर्ना भएका वडा अध्यक्ष खनाल



काठमाडौं । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर औपचारिक शिक्षा शुरु गरेका छन् ।हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनले अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन थालेका हुन् ।

शिक्षाको महत्व सधैँ बुझ्ेका खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन् । जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महशुस भइरहने भएकाले गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले सुनाए ।

विगतमा विदेश जाने सपना बोकेका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन । उनले बस बेचे, पसल गरे, कुखुरा पालन जस्ता काम पनि गरे तर ऋणको चक्रव्यूुहबाट भने उम्कन सकेनन् । यद्यपि जीवनका ती सबै चुनौतीहरूले उनिँ कमजोरु भएनन् । वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो । २०७४ सालमा उनि पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भए । त्यसपछि श्री बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उनले सम्हाले । उक्त विद्यालयमा लगाईएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन शुरु गर्ने निर्णय गरे । जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ । अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ ।

वि.सं. २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैँले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भए । शिक्षाप्रति बढ्दो मोहका बीच उहाँले २०८१ सालमा कक्षा १२ उत्तिर्ण गर्दै २.६ जीपीए ल्याए ।

त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो । अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उहाँ नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन् । शिक्षा प्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उनको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भदौ १४, २०८२ शनिबार  २ : २६ बजे