मल कारखाना स्थापना गर्न ढिला नहोस : विनोद चौधरी



काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् ।मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उनले त्यसको निर्णय लिन सरकारलाई सचेत गराएका हुन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिए । उनले मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउदै उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको पनि बताउनु भयो ।

उनले भने,‘जतिखेर उखुको मूल्य समयमा नै तोकिदैन थियो । त्यसका लागि विभिन्न सडकदेखि सदनसम्म र मन्त्रालयसम्म संघर्ष गर्दै, प्रयास गर्दै समयमा नै मूल्य तोकिने कुरामा पनि ठूलो भूमिका खेले भन्ने मेरो मान्यता हो । त्यो बाहेक प्रति क्वीन्टल ७० रुपैयाँ गत सरकारको बेलामा थप सपसिटी दिने व्यवस्थाको सुरुवात पनि हामीले त्यही बेलाबाट गराएका हौं । तबदेखि केही हदसम्म भएपनि किसानले राहत पाएका थिए । एउटा कुरा के बुझ्न जरुरी छ भने खासगरी मेरो क्षेत्रको कुरा गर्नु भयो । यो केराको हकमा ४ दोब्बर मल लाग्छ । नेपालको मल वितरण गर्ने प्रणाली र यो कुन ठाउँमा कति दिनुपर्ने हो भन्ने कुरा त्यहाँको उत्पादन, त्यहाँको खेती, त्यहाँको किसानको स्थितिलाई हेरेर त्यसको निक्र्यौल गर्नुपर्ने हो । र, त्यसको व्यवस्थित खाका सार्नुपर्ने हो । त्यो भएको छैन । त्यो कनिका छराइको हिसावले केही ठाउँमा मल प्रयोगमा नआएर कुहिएर बसेको अवस्था छ भने हाम्रो जस्तो क्षेत्रमा किसान जहिले पनि मलको लागि तडपिराखेका छन । म कृषिमन्त्रीजीलाई फेरी पनि भन्न चाहन्छु–सबभन्दा पहिला वितरण प्रणालीलाई व्यवस्थित गर्नु प¥यो । दुई ७ लाख न्युनतम मलको माग भएकोमा ४ लाख भन्दा बढि मलको जोहो गर्न सक्दैनौं । त्यो भनेको सर्टेज हुनु स्वभाविकै हो । अर्को मलको कारोबार गर्ने विचौलियाहरुले कृतिम अभाव सृजना गर्ने श्रृंखला कहिल्यै पनि सकिएन । त्यसलाई सिध्याउनु प¥यो । चौंथो सबभन्दा महत्वपूर्ण कुरा यसको कारखाना खोल्ने क्रममा अहिलेको वर्तमान सरकारले सम्माननीय प्रधानमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्रीले लिएको तदारुपकताबारे मैले छापामा पनि पढेको छु । त्यसको अन्तिम निर्णय तत्काल सरकारले गरोस । नेपालमा यो कारखाना खुल्न सक्छ । बर्दघाटमा नै यो कारखाना खुल्नु पर्छ ।’

सांसद चौंधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुने समेत बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भदौ १८, २०८२ बुधबार  ६ : ५० बजे