काठमाडौँ –
पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको पथमा देशलाई हिडाउन सकेनन भने परिवर्तनको कुनै अर्थ नहुने बताएका हुन । ।
‘जुनसुकै परिवर्तन हुँदा दुईटा महत्वपूर्ण कुरा हुुनुपर्छ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहले भने, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’
लक्ष्मी पूजाको दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटालार्ई सम्झिएको स्मरण गर्दै उनले भने, ‘अरुको सुःखका लागि आफैंलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।
पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे ।
शाहले १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।








