काठ्माण्डौ-
नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयलाई संघीयता कार्यान्वयनको क्रममा प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको ठहर गरेको छ ।
मंगलबार बसेको पदाधिकारी बैठकले सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको कांग्रेसले निष्कर्ष निकालेको हो ।
कांग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रको रुपमा समेत लिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।सरकारको यो निर्णय राजनीतिक दृष्टिलेसमेत पूर्वाग्रहपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती गर्नु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रूपमा भएको कांग्रेसले आरोप लगाएको छ।
प्रेस विज्ञप्ति-
नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीहरुको बैठक जारी छ । बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको छ ।
संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको छ । सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव








