काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि पछिल्लो समय राष्ट्र बैंकले लगातार बैंकहरुबाट निक्षेप खिच्दै आएको छ ।
केन्द्रीय बैंकले आज वैशाख ११ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक १ खर्ब २० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।यो १९ दिने निक्षेप संकलन उपकरणको यही वैशाख ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।














