उपनिर्वाचन २०७६ : यस्तो छ देशैभरिको तयारी



काठमाडौं-

शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतीक्षामा छन्।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि ती जिल्लामा तयारी पूरा भएको छ। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा खटिएका कर्र्मचारी पुगिसकेको र मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाएको छ।

कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा कर्मचारीको खटनपटन भइसकेको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनका लागि कूल पाँच हजार ५३२ कर्मचारी खटाइएको छ।

निर्वाचनका लागि यसअघि आचारसंहिता लागू भइसकेको छ भने अहिले मौन अवधि जारी छ। यही मङ्सिर ११ गते रातिदेखि मौन अवधि शुरु भएकाले सामाजिक सञ्जालमा समेत प्रचार–प्रसार निषेध गरिएको छ।

निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी खटनपटन भइसकेको छ। सुरक्षाको तयारी र समीक्षा गर्न आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आज सिंहदरबरमा बैठक सम्पन्न भएको छ।

शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ । गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्। मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाह्य घेरामा नेपाली सेना रहनेछ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र निष्पक्ष तुल्याउन संविधानविरोधी एवं अराजक गतिविधि हुन नदिन सुरक्षा सतर्कता र कडाइ अपनाइएको छ। निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ। मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ।

कास्की निर्वाचन –

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न मतदाता आतुर छन्। निर्वाचन शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा सम्पन्न हुनेमा मतदाता विश्वस्त रहेकाले उत्साहका साथ मतदान गर्न आफूहरु आतुर रहेको चण्डी सामुदायिक मावि मतदान केन्द्रका मतदाता शान्ता पौडेलले बताइन्। यस क्षेत्रमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्। दिवङ्गत नेता एवं तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा हुने निर्वाचनलाई राष्ट्रियरुपमै महत्वका साथ गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचनमा मानवअधिकारविरोधी र संविधानविपरीतका क्रियाकलाप गर्ने व्यक्तिमाथि निगरानी बढाइएको बताए।

शङ्कास्पद गतिविधि देखिनासाथ सुरक्षाकर्मीलाई तत्कालै पक्राउ गर्न निर्देशनसमेत दिइसकिएको उनले जानकारी गराए। त्यस्ता, हर्कत गर्ने व्यक्ति देखिनासाथ सर्वसाधारणलाई पनि अविलम्ब नजिकको प्रहरीलाई जानकारी गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वडाका ७१ हजार ८७१ मतदाता छन्। ती मतदाताकाले ८२ मतदान केन्द्रबाट मतदान गर्नेछन्। निर्वाचन सम्पन्न गराउनका लागि ४१० कर्मचारी परिचालन गरिएको छ।

दाङ निर्वाचन-

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सबै मतदान केन्द्रमा मतदान सामग्रीसहित पुगेका मतदान अधिकृतले मतदानका लागि आवश्यक पर्ने केन्द्र बनाइसकेका छन्। सुरक्षा प्रबन्धका लागि जिल्लामा सर्वदलीय बैठक गरिएको छ।

बैठकले मतदान केन्द्र आसपासमा राखिएका प्रचार सामग्री हटाउने सहमति गरेको छ। दाङ निर्वाचन क्षेत्र नं ३ को ९ख० मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

बाग्लुङ –

उपनिर्वाचनका लागि मतदान केन्द्रमा तारबारलगायतको काम शुरु भएको छ। मतदान अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सबै मतदान केन्द्रमा जनपथ र सशस्त्र प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

नेपाली सेनाले पनि मतदान केन्द्रको बाहिरी सुरक्षा दिएको छ । निर्वाचनका कारण पश्चिम बागलुङमा चहलपहल बढेको छ। काम विशेषले बाहिर रहेका व्यक्ति फर्केका छन् । प्रदेशसभाका लागि बागलुङ २ ९ख० र बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचन हुँदैछ।

जिल्लामा २५ मतदानस्थलका ४५ मतदान केन्द्रमा गरी २१५ कर्मचारी खटिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन्। बडिगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि एक हजार ७७५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।

मतदातालगायत सर्वसाधारणलाई आइपर्न सक्ने सम्भावित स्वास्थ्य समस्यालाई दृष्टिगत गरी जिल्ला स्वास्थ्य कार्यालय बागलुङले सम्बन्धित पालिकामा रहेका स्वास्थ्य संस्था खुला राख्न निर्देशन दिएको छ। एम्बुलेन्स र अत्यावश्यक सवारी साधन पनि तयारी अवस्थामा राख्न अनुरोध गरिएको कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले बताए।

बागलुङ २ ९ख० अन्तर्गत ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्नेछन्। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। यस्तै वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त पदमा उपनिर्वाचन हुने भएको हो।

चितवनमा सिसि क्यामरा-

जिल्लामा उपनिर्वाचन हुने वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसी क्यामेरा राखेर निगरानी गरिने भएको छ। भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ एवं ५ मा शनिबार उपनिर्वाचन हुँदैछ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान केन्द्र रहेका कतिपय विद्यालयमा यसअघि नै सिसी क्यामेरा भएकाले त्यसलाई उपयोग गरिएको र आवश्यकतानुसार अन्य केन्द्रमा पनि जडान गरिएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले आवश्यकतानुसार सिसी क्यामेरा जडानको काम भइरहेको जानकारी दिए। भरतपुर महानगरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको चितवन जिल्ला अदालत परिसर र खैरहनीको पुरानो नगरपालिका भवनमा मतगणना हुनेछ।

पर्सा स् मौन अवधिको पालना

पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी तथा स्वयंसेवकलाई तालीम दिई खटाइएको छ। जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मतदान केन्द्रमा मौन अवधि शुरु भएकाले प्रचारप्रसार बन्द भएको छ।

 

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  १० : ११ बजे