शनिबार साँझदेखि वर्षा क्रमिक रूपमा कम हुँने



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ ।

नेपाल मौसम विभागकाअनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो ।

मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भूभागमा पनि वर्षा कम हुँदै गएको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो एक घण्टाको मौसम हेर्ने हो भने क्रमिक रूपमा सुधार आइरहेको अवस्था छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भूभागमा मौसम सुधार हुँदै गइरहेको छ भने त्यससँगसँगै कोशी प्रदेश र मधेश प्रदेशको पनि पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ ।’

उहाँकाअनुसार बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा भने अझै बादल लाग्ने र वर्षा हुने क्रम जारी छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रसहित दोलखा र संखुवासभाका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य भूभागमा हल्का वर्षा भइरहेको छ ।

लामिछानेले अपराह्नदेखि वर्षा क्रमिक रूपमा कम हुँदै जाने बताउनुभयो । उहाँकाअनुसार आज रातिदेखि मौसममा थप सुधार आउनेछ । भोलि र पर्सि आजको तुलनामा मौसम अझ राम्रो रहने देखिएको छ ।

उहाँले भन्नुभयो, ‘आजको तुलनामा विशेषगरी अब भोलि र पर्सि क्रमशः मौसममा सुधार आउने देखिन्छ । हिमाली तथा पहाडी भूभागमा कतै-कतै छिटपुटदेखि हल्का वर्षा अथवा हिमपात भए पनि त्यस्तो धेरै प्रभाव पार्ने खालको मौसम प्रणाली रहेको छैन ।’

आगामी २४ घण्टाको मौसमबारे जानकारी दिँदै उहाँले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताउनुभयो । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका केही स्थानमा मात्रै वर्षा हुने पूर्वानुमान छ ।

पछिल्लो २४ घण्टामा देशका धेरैजसो स्थानमा वर्षा भएको छ । मनाङको तालस्थित मौसम मापन केन्द्रमा १२४।२ मिलिमिटर वर्षा मापन भएको छ । गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ भने अन्य धेरैजसो भूभागमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा बनेको न्यून चक्रवातको अवशेष न्यून चापीय प्रणालीका रूपमा भारत आसपास रहेकाले नेपालका विभिन्न भूभागमा वर्षा भएको लामिछानेले बताउनुभयो । उक्त प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै गएको र आज साँझसम्म यसको प्रभाव निकै कम हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक १४, २०८३ शनिबार  ७ : ११ बजे