काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीको भने यो पहिलो हार हो।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
काठमान्डुका लागि राशिद खानले अर्धशतक बनाउँदै सर्वाधिक ५० रन जोडे। करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रन बनाए। जहानदाद खान २२ रनमा अविजित रहे। काठमान्डुले अतिरिक्त १० रन पाएको थियो।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई–दुई विकेट लिए। नन्दन यादव र मार्क वाटले एक–एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।
कर्णालीका अरिफुल इस्लामले ४४ रन बनाए। २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। हुसैन तलतले ४० रन जोडे।
अन्तिमतिर ब्याटिङमा आएका गुलशन झाले ११ बलमा २० रन बनाए। पवन सर्राफ ३० रनमा अविजित रहे भने मार्क वाटले १७ रनको योगदान दिए। कर्णालीले अतिरिक्त १३ रन पाएको थियो।
काठमान्डुका करण केसीले दुई विकेट लिए। शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक–एक विकेट लिए।










