दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप



काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध चार दिन म्याद थप भएको छ ।

म्याद थप गरिएका व्यक्तिमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले उनीहरूमाथि अनुसन्धानका लागि चार दिन म्याद थप भएको जानकारी दिनुभयो ।

सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।

उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार  ६ : १७ बजे