काठमाडौं –
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी मेलमिलापको निती लिएर स्वदेश फर्किएको दिन पुस १६ गतेको स्मरण गर्दै आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।
नेपालको राष्ट्रीयता खतरामा परेको महसुस गर्दै मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । २०२५ सालदेखी भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
तत्कालिन समयमा दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा व्यक्त गर्दै नेपाल फर्किएका थिए ।
नेपाल फर्केपछी तत्कालिन पञ्चायती शासनले गर्न सक्ने सबै किसिमका क्रुर ब्यबहार र दमनको पर्बाह नगरि राजकाज सम्बन्धी अनेक मुद्द हुँदा हुँदै जननायक विश्वेश्वरप्रसाद कोइरालाले लिएको नेपाल फर्किने निर्णयलाई आज सम्म पनि एक देश भक्ती पुर्ण र साहषिक निर्णयको रुपमा लिने गरिन्छ ।
बलियो राष्ट्रीयता र जनताको स्वतताका लागी आफु माथिको खतरालाई समेत गौण ठान्ने र प्रजातान्त्रीक समाजबादको राजनितिक कार्यक्रममार्फत सबै नेपाली जनलाई स्वतन्त्र र सक्षम बनाउन जिबन समर्पण गरेका महामानब बिपि कोइरालालाई यिनै गुणहरुले सबै नेपालिहरुका बिच सधैका लागी अबिस्मरणिय बनाएको छ ।राजनिती सगसगै साहित्य मार्फत पनि नेपाली समाजको चेतनालाई उच्च बनाउन समेत कोइरालाको उत्तिकै योगदान छ । मेलमिलापको नीति लिए नेपाल फर्किने कोइरालाको उक्त निर्णय र पुस १६को मेलमिलाप दिबशलाई आजसम्म पनि बलियो राष्ट्रीयता र राष्ट्रीय मेलमिलापका लागी प्रेरणाका रुपमा लिने गरिएको छ ।
स्वदेश फर्केका वीपी, गणेशमान लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।
यसै दिनको स्मरणमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी केन्द्रीय कार्यालले जानकारी दिएको छ ।








