नेकपाले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार, वामदेवले किन गरे उम्मेदवार बन्न अस्वीकार ?



काठमाडौँ –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ ।

तत्कालीन एमालेको तर्फबाट ९ र माओवादी केन्द्रको तर्फबाट ७ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ ।

नेकपाले प्रदेश नम्बर १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र बेदुराम भुसाल उम्मेदवार बनेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी, नेकपाका नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्न नेकपा नेताहरुले गरेको प्रस्ताव अस्वीकार गरेका छन ।

श्रेष्ठका अनुसार नेता गौतमलाई पनि राष्ट्रियसभा सदस्य बन्न अध्यक्षद्वयले प्रस्ताव गरेका थिए। तर गौतमले आफ्ना केही पूर्व सर्त रहेको बताएका थिए।’उहाँले राष्ट्रियसभामा गएर आफू प्रधानमन्त्री बन्न नमिल्ने भएकाले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभयो’, प्रबक्ता श्रेष्ठले भने, ‘उहाँले प्रधानमन्त्री पद र संविधान संशोधनको ग्यारेण्टी माग गर्नुभयो।’

गौतमले धारणा राखेलगत्तै अध्यक्षद्वयले तत्काल संविधान संशोधन गर्न नसकिने बताएका थिए।

नेपालको संविधानमा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ।

प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार  १० : ५३ बजे