काठमाडौं –
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
नेविसंघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता जोशीले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरु खोसिदै गएको दाबी गरे ।
“लोकतान्त्रिक व्यवस्था माथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष बलिदान पछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिदै छन्,” उनले भने, “आज जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन् ।”
नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने उनले बताए।
कार्यक्रममा नेता गगन थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए ।विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’
सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्ला बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे ।
विधेयक जस्ताको तस्तै पारित भयो सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन् । नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’
यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफलगर्न तयार रहेको बताए । यो विधेयकका विरोध पारित हुन नदिन संसदमा र सडकमा लड्ने बताए।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडलले नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए । उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरोधले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ । साथै उनले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी दिए ।
नेबिसघका नेता सुशिल भट्टको सम्योजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेबिसघका पुर्ब महामन्त्री मनोजमण आचार्य ,कुन्दन राज काफ्ले,प्रतिमा गौतम ,पुर्ब उपाध्यक्ष डील्लीराम सुबेदी,राम प्रसाद अधिकारी ,पुर्ब सहमहामन्त्री बलदेव तिमल्सिना ,पुर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेको विद्यार्थी नेता निरन्जन थापाले बताए ।








