माघ १,काठ्माण्डौ-
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य नभएको बताउदै आफुले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका छन्।
माघे संक्रान्तिको अवसरमा बुधबार थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले १७ हजारमध्ये १२ हजार तत्कालीन सरकारले मारेको बताएका हुन ।।
‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ। म तथ्यांक मात्रै सच्याउन चाहन्छु। साथीहरू यो सत्य होइन। हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन,म नगरेका कामको जिम्मा लिन्नँ,’ उनले भने।
उनले टीकापुरको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताए। उनले केही समयपछि रेशम चौधरीलाई छुटाइने बताए। उनले भने-केही साथीहरु छुटेका छन्। रेशम लगायतका केही छुट्न बाँकी छन छुटाइन्छ। हेर्नुहोला, केही समयभित्र यसको परिणाम निक्लिन्छ।’








