काठमाडौं –
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेस नेताहरुबीच प्रधानमन्त्री निबास बालुवाटारमा छलफल भएको छ ।
शुक्रबार विहान भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र कानुन विज्ञ तथा शान्ति प्रक्रियाका जानकार नेताहरु सुवासचन्द्र नेम्वाङ, रमेश लेखक, मिनेन्द्र रिजाल र खिमलाल देवकोटा लगायतको सहभागिता थियो ।
छलफलमा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमा विषयमा छलफल भएको बताइएको छ ।
उक्त छलफलका क्रममा कानुन मन्त्रालयको नेतृत्वमा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्शका लागि बनेको टोलीले तीन जना नेतालाई रिपोर्ट बुझाएको छ । उक्त टोलीमा नेकपा र काँग्रेस नेताहरु पनि संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए ।
छलफलमा सहभागी काँग्रेस नेता लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग बारेको विधेयकको मस्यौदामा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग भएको परामर्श ब्रिफिङ गरिएको बताए । पटकपटक समय थप्दा समेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारीविहीन छन् ।
नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिले ६१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये सत्तारुढ नेकपाले अधिबक्ता गोबिन्द बन्दीलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्राध्यापक गणेशदत्त भट्टको नाम अघि सारेको छ ।








