विधुत माग गर्दै तिङलाका स्थानियहरु आन्दोलित : मोटरसाईकलमा आगजानी



सोलुखुम्बु-

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाका स्थानीयले गाउँमा विधुत विस्तारको माग गरेका छन्। सोलु करिडोरबाट प्रभावित क्षेत्रमा पर्ने तिङ्लामा विधुत विस्तार गर्न यहाँका स्थानीयले माग गरेका हुन्।

विधुत विस्तारको माग राख्दै  शनिवार तिङ्ला लाम्मानेमा स्थानीयले करिब एक दर्जन मोटरसाईकलमा आगजानी गरेका छन्। आफ्नो क्षेत्रमा विधुत विस्तार नगरी सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा विद्युतको केन्द्रीय प्रसारण लाईन जडान गरीएको भन्दै स्थानीय आक्रोसित बनेका हुन्। बन्दको घोषणा गरेका तिङलाली र विद्युत उद्घाटनका लागि सदरमुकामबाट गएको टोली बिच झडप भएको छ । आज दिउसोेको समयमा पत्तालेमा विद्युतको उद्घाटन गर्न गएको टोली र आन्दोलनकारी बिच झडप भएको हो । उक्त क्रममा मोटर साइकल र गाडी समेत तोडफोड भएको हो ।

शनिबार पत्तालेमा केन्द्रीय प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम पनि तिङ्लाबासीले अवरोधपछि विथोलिएको छ। स्थानीयले ११ वटा मोटरसाईकल र एउटा बोलेरोमा जथाभावी रुपमा आगजनी गरेको सोलुखुम्बुबाट सुवास दर्नालले जनाएका छन्। हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नगरी पत्तालेमा उद्घाटन गर्न लागेको भन्दै तिङ्लाका स्थानीयले विरोध जनाउदै आएका थिए।

संघिय सांसद हेमकुमार राईले शनिबार पत्तालेमा केन्द्रीय विधुत उद्घाटन गर्ने कार्यक्रम थियो। स्थानीयको अवरोधपछि कार्यक्रम रोकिएको छ। झडपको स्थिती सृजना भएपछि अतिथिहरुबीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन्। तिङ्लाबासीले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन्।

सडक अवरुद्ध भएसँगै काठमाण्डौ र ओखलढुंगाबाट सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमानै अलपत्र परेका छन्। यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  १ : ३१ बजे