सापकोटालाई सभामुख नबनाए राम्रो : इन्सेक



काठमाडौं, माघ ७ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सत्तारुढ  नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सशस्त्र द्वन्द्वकालीन विचराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय देशको कानुन तथा नेपालको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत भएको उल्लेख छ ।

‘सङ्क्रमणकालीन न्यायको विषयमा संसारले नजर लगाइरहेको यो अवस्थामा श्री सापकोटाको सभामुख पदमा हुने नियुक्तिले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीतमात्रै नभई मुलुकको मानव अधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताको समेत खिल्ली उडाएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।

इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए।

कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताहरूको अपहरणमा परेका पीडित लामाको २०६२ असार महिनामा माओवादी नियन्त्रणमा नै मृत्यु भएको थियो।

प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार  ७ : ४५ बजे