गोकर्ण रिसोर्ट अगाडि नेविसंघको बिरोध प्रदर्शन :सरकारी निर्णय खारेज नहुन्जेलसम्म आन्दोलन जारी राख्ने



काठमाडौं-

कांग्रेसको भ्रातृ संगठन नेविसंघले गोकर्ण रिसोर्ट अगाडि बिरोध प्रदर्शन गरेको छ ।पछिल्लो समय निकै बिबादित बनिरहेको गोकर्ण रिसोर्टको जमिन समय अबढी नस्दकिदै यति होल्डिङ्सलाई अवधि थप गरेर दिने सरकारी निर्णयको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा आयोजित कोणसभामा नेता प्रदिप पौडेलले वर्तमान सरकारले हिजोको सामन्तीवादी सोचलाई निरन्तरता दिँदै जमिनमा कब्जा गरी राज्य कब्जा गर्न खोजको आरोप लगाए। उनले करोडौं रुपैयाँ भाडा लिन सकिने गोकर्णको जमिन टेण्डर आह्वान नगरी वार्षिक केही लाख रुपैयाँ लिएर वर्षौवर्षका लागि यति होल्डिङ्सलाई दिएर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गरेको बताए।

सभामा संविधानसभा सदस्य एवं स्थानीय कांग्रेस नेता दीपकप्रसाद कुइकेलले सरकारले नयाँ संविधान बनेपछि त्यससँग बाझिएको कानुनहरु संशोधन गर्ने नाममा कसैले थाहा नपाउने गरी नेपाल ट्रष्ट ऐन संशोधन गरेर यति होल्डिङसलाई गोकर्ण रिसोर्ट नियतवश कौडिको भाउमा सुम्पेको बताए।

नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा बुधबार गोकर्ण रिसोर्ट अगाडि भएको प्रदर्शनमा गोकर्ण रिसोर्ट बिनाप्रतिस्पर्धा यति होल्डिङ्सलाई दिने सरकारी निर्णय खारेज नहुन्जेलसम्म नेविसंघले चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए।

नेविसंघका निवर्तमान महामन्त्री एवं नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले कम्युनिष्टहरु कमाउनिष्टमा परिणत भएको चर्चा गर्दै त्यसको नेतृत्व बालुवाटारबाट प्रधानमन्त्री केपी ओलीले गरिरहेको बताए। गोकर्ण रिसोर्टको जग्गा कौडिको मूल्यमा यति होल्डिङ्सलाई सुम्पेर ओलीले यसको प्रमाण पेश गरेको काफ्लेले जिकीर गरे।

 

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  १२ : ५८ बजे