काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगती देखाउन नसकेको टिप्पणी गरेका छन् । बजेट खर्चको गति बढ्न नसक्नु, शुसासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न दोषि पत्ता लगाउन नसक्नु तथा हत्या हिंसा लगायतका घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएका हुन् ।
उहाँले भन्नुभयो “सरकारको दुई बर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निरासाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुडगर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाईडवडी काण्ड, न्यारोवडी काण्ड देखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गा देखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुडगर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको देखाईरहेको छ ।”
यस्तै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गर्नुभयो । राजनीतिक , प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिर्वतन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उहाँको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउने लगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पुर्णरुपमा असफल रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो“ राम्रो अवसर प्राप्त भएको थियो । प्रधानमन्त्रीले त्यो अवसर गुमाउनुभयो । भ्रष्टाचार रोक्नका निम्ति प्रशासनिक सुधार गर्नुपथ्र्यो । जुन हाम्रो प्रक्रियामुखी व्यूरोक्रेसी थियो । यसलाइृ संरचनात्मक ढंगले बदलेर परिणाममुखी व्यूरोक्रेशीमा बदल्न सक्नु पथ्र्यो । भ्रष्टाचार नियन्त्रणका अंग पनि त्यत्ति प्रभावकारी थिएनन् । ”
उहाँले संसदप्रति उत्तरदायी लोकपालको व्यवस्था गर्नुपर्छ भन्दै आएको तर त्यसो हुन नसकेको र भ्रष्टाचार नियन्त्रणको नाममा ‘ठूला लुकाउने साना कोट्याउने’ काम भएको टिप्पणी गर्नुभयो । उहाँले सात महिना भित्र जम्मा १४ प्रतिशत मात्रै बजेट खर्च हुनुले अन्ततः असारे विकासलाई शक्तिशाली सरकार भएर पनि सुधार गर्न नसकेको देखिएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवले सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिनुभयो ।








