काठमाडौं । नेपाली कांग्रेसले सरकार सञ्चालनमा अनुकुल परिस्थिति हुँदाहुँदैपनि सरकारले जनअपेक्षा अनुरुपको एउटापनि काम गर्न नसकेको दाबी गरेको छ ।
शनिबार संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको सरकारका दुई वर्षका कामको विवरणहरुमा कुनै सत्यता नभएको र जनअपेक्षा अनुरुपको काम पनि नभएको आरोप कांग्रेसले लगाएको छ आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सहज समयको सदुपयोग गर्न नसकी पूर्ण रुपमा असफल बन्दै गएको कांग्रेसको मूल्याङ्कन रहेको बताउनुभयो । उहाँले सरकारको अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकुल समयमा पनि आफैले प्रतिकुल बनाउँदै गएको दाबी गर्नुभयो । उहाँले भ्रस्टाचार बढ्दै गएको, भ्रष्टाचारमा आफ्ना मान्छे जोगाउने खेलमा लागेकोले सरकार आफैमा भ्रष्ट भन्दै गएको प्रस्ट भइसकेको बताउनुभयो । उहाँले मुलुकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको, मंहगी झनै बढेको तथा बेरोजगारको संख्या बढ्दै गएको तर्फ सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।
कांग्रेसले दुई वर्षमा सरकारको आयोग्यता, असफलता र अधोगतिमा आठकोणको पहिचान गर्दै सरकार राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगारी सृजना र विस्तार, सांस्कृतिक रुपान्तरणको कोणबाट पूर्ण रुपमा असफल भएको दाबी गरेको छ । सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको प्रवक्ता शर्माले बताउनुभयो ।








