कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणको निष्पक्ष छानबिनको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार प्रेस युनियनले विरगञ्जमा गरेको कार्यक्रममा महतले सेक्युरिटी प्रेससम्बन्धी वार्ताबारे बाहिरिएको अडियोमा सुनिने ७० करोड कमिसनको निष्पक्ष छानबिन गरिनु पर्ने बताए ।
उनले भने, ‘सञ्चार तथा सूचना प्रविधिमन्त्रीको राजीनामाले मात्रै पुग्दैन । ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्छ ।’
नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि कांग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको महतले बताए । उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको उल्लेख गरे ।
भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्तामाथि बल प्रयोग गरेपछि भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको पुष्टि भएको महतको भनाइ थियो ।
मुलुकमा बढदै गएको महँगी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै कांग्रेस सडकमा उत्रिने महतले बताए ।








