काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयसंगै अर्थमन्त्री डा. युवराज खतिवडा सङ्घीय संसदबाट बिदा हुने भएका छन् । राष्ट्रियसभा सदस्यका रुपमा उनको कार्यकाल फागुन २० गते सकिँदैछ ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको हो । खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित कोटामा परेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा खतिवडालाई विज्ञका रुपमा राष्ट्रियसभामा मनोनित गर्दै प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । राष्ट्रियसभा सदस्यका लागि संक्रमणकालीन व्यवस्था अन्तर्गत भएको ‘चिठ्ठा प्रणाली’ मा खतिवडाको कार्यकाल दुई वर्षे फागुन २० गते पूरा हुदैछ ।
संविधानअनुसार राष्ट्रिय सभा सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको कार्यकाल समाप्त हुन्छ ।
यद्यपि त्यसपछि उनी सिंहदरबारबाट बाहिरिने निश्चित हुँदा खतिवडाको उत्तराधिकारी को बन्ला भन्नेमा चासो बढ्न थालेको छ ।








