नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पछिल्लो समय उनले देश छोड्ने तयारी गरिरहेको भन्ने समाचारको खण्डन गर्दै आफुले आफुले मातृभूमि छोड्ने कल्पना समेत नगरेको बताएकी छिन् ।देशले दिएको इज्जत र प्रतिष्ठाको गुन तिर्न धेरै बाँकी रहेको भन्दै उनले उक्त समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेकी हुन ।
कोइरालाले आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै आफुले मुलुक छोड्ने भन्ने हल्ला चलाइएको बताइन् । कोइरालाले भनिन्– ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रिय यो देश हो म कसरी छाड्न सक्छु र? मर्नुपरे पनि नेपालमै मरौंला ।’
नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने कोइरालाले बताइन् । नेपाल सुन्दर भए पनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई छ ।
नेतृ कोइरालाले नेपाल र नेपालीको मायाले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको बताउदै भनिन्– ‘मलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ । उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु । बाँकी जीवन पनि नेपाल र नेपालीको सेवामा समर्पित भइरहेकी छु ।’
देश र जनताको सेवा गर्ने आफ्नो मनदेखिको चाहना रहेको सुजाताले बताइन् । उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो ।
पछिल्लो समय नेत्री कोइरालाले देश छोड्ने तयारी गरेको भनि केहि सञ्चारमाध्यमहरुमा समाचार आएपछी उक्त बिषयमा उनले मुख खोलेकी हुन ।








