प्रदेश १ का मुख्यमन्त्री शेरधन राइलाई पति दाबी गर्दै खड्काले गरिन अंशमुद्दा दायर



प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले  काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छन्। मुख्यमन्त्री राईविरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।

मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छन्।उनले राईसँग ७१ सालदेखि सँगै रहेको भन्दै मुलुकी संहिताअनुसार विवाह कायम गरी अंश दिलाउनुपर्ने माग गरेकी छन्।

उनले आफूलाई भएको अन्यायबारे नेकपाका शीर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छन्।

खड्काले दायर गरेको मुद्दामा सञ्चारमन्त्री भएको समयमा राईले आफूलाई राजधानीको गोल्फुटारमा कोठा भाडामा लिएर राखेको दाबी गरेकी छन्।

राई मुख्यमन्त्री भइसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छन्।

राईले पार्टीका सदस्यतासमेत निलम्बन गराइ आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातनासमेत दिएको हुँदा बाध्य भई अदालतमा मुद्दा दायर गर्नुपरेको उनले जनाएकी छन् ।

बालिकाले दर्ता गरेको मुद्दाको पेशी आउँदो चैत १७ गतेका लागि तोकिएको छ ।

 

प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार  १ : १२ बजे