शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने नेपाली कांग्रेसका सांसदहरुले देशका लागी कोरोना भाइरस भन्दा भ्रष्टाचार खतरनाक भएको बताएका छन ।
शुक्रबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताए । भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको उनले बताए । उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे ।
उनले भने–‘शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि फेर्न पर्दो रहेछ नी । त्यसैले आफ्नो आसे पासे भएपनि देश र जनताको लागि काम नलाग्ने भएपछि किन अहिलेसम्म भ्रष्टाचारीलाई कारवाही भइरहेको छ । नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’
तेस्तै शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले संसदको अधिवेशन जारी रहेकैबेला सदनलाई छलेर पेट्रोलियम पदार्थमा विकास करलाई दोब्बर बनाएर जनतालाई थप मारमा पारेको भन्दै कर बृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन पनि माग गरे।
यस्तै नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सेक्युरिटी प्रिटिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारवाही गर्न माग गरेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै संग्रौलाले भ्रष्टाचारले कोरोना भाइरसले जस्तै तर्साएको बताइन् ।








