काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई प्याण्डेमिक भनेर घोषणा गरिसकेको र प्याण्डेमिक प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाईसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सरकारले अहिले पनि संसदलाई निरन्तर चलाईराख्न नहुने तर्क उहाँले गर्नुभयो । त्यसैगरी ठूलो भीड जम्मा हुने स्थानहरुलाई तत्काल बन्द गर्न पनि उहाँले सुझाव दिनुभयो । समयमै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानविय क्षति व्यहोर्नुपर्ने भन्दै उहाँले यस तर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “जहाँ भीडभाड हुन्छ, जहाजमा, स्कुलमा, बसमा, जहा मास ग्यादरिङ हुन्छ त्यो ठाउँमा संक्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्यो । स्कुलहरु बन्द गर्नुपर्यो । यदि हामीकहा यो संक्रमण रोगले भ्यायो भने हामी संग केही पनि पुर्वाधार छैन रोक्नलाई । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसंग केही पनि छैन । सरकार के हेरेर बसेको छ यो अवस्थामा । त्यसैले सरकारले चाडो भन्दा चाडो एक्सनमा आएर संसद पनि बन्द गर्नुपर्यो । र तमाम स्कुलहरु जहा मास ग्यादरिङ्ग हुन्छ । त्यो ठाउँ रोक्न सकेन भने यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने संभावना छ । ”
अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोना संक्रमणको त्रास संगै बजारमा औषधि, मास्क लगायत , दैनिक उपभोग्य सामान पाउन छोडेएको भन्दै उहाँले भन्नुभयो “एक लाख मास्क चाईना पठाउन हतार गर्ने यो सरकार आफैलाई चाहिदा कता अलमलिएको छ म जान्न चाहन्छु । ”








