सरकारले कोरोनाबारे दिएको अभिव्यक्तिको जवाफ चाहिन्छ : सचेतक भुसाल



काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना संक्रमणलाई नेपाल भित्रन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै अन्तराष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएको प्रति उहाँले गम्भीर ध्यानाकर्षण गराउनुभयो । छिमेकी मुलुक भारतले आवागमनका यात्रुलाई अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दे उहाँले समयमा नै आवश्यक सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “कोरोना भाईरस नियन्त्रण गर्नका लागि सरकार तयार छ कि छैन ? खाद्य सामाग्री देखि औषधी उपचारका लागि कच्चा पदार्थ ल्याउनका लागि सरकार तयार छ कि छैन ? अहिले सरकार, सरकारमा बसेका मन्त्रीहरुको अभिव्यक्ति हेर्दाखेरी अत्यन्तै कमजोर अभिव्यक्ति र नेपाली जनताले विश्वास गर्न नसक्ने किसिमको अभिव्यक्ति सरकारबाट आईरहेको छ । सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ । हरेक जनता खाद्यान्न लगायत अत्यावश्यक औषधीबाट बञ्चित हुनुपर्दैन भनेर व्यवहारमा देखाउन जरुरी छ ।”

भारत लगाय सबै मुलुकले आफ्नो देशमा पर्याप्त सुरक्षा सर्तकता अपनाईरहेका बेला नेपाल सरकारका मन्त्रीले भने गैह्जिम्मेवार अभिव्यक्ति दिएर जनतालाई थप त्रसित पार्ने काम गरिरहेको भन्दै उहाँले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको स्वास्थ्य मन्त्रीले सरकार अहिले तयारीमा छैन । आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाईनमा एक्लै बस्नुपर्छ भन्ने जस्ता सन्देशहरु बाहिर प्रवाह गरेर जनतालाई अझै बढी त्रसित गरेको गरेको हामीले अनुभूति गरिरहेका छौ । सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसको जवाफ पनि हामी सभामुख मार्फत चाहन्छौ । ”

कोरोना संक्रमणको नाममा जनतालाई त्रसित पार्ने गरि अत्यावश्यक खाद्य बस्तुहरु व्यापारीले लुकाएर बजारमा पाईन छोडको, अन्तराष्ट्रिरुपमा पेट्रोलियम पदार्थको मुल्य ३० प्रतिशतले कमि आउँदा पनि नेपाली महंगो पेट्रोल किन्न बाध्य भएको उल्लेख गर्दै उहाँले जनतालाई आश्वस्त पार्न सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “बाणिज्य मन्त्री यही हुनुहुन्छ । कसैले खान नपाए मलाई भन्नु भनेर उहाँले अभिव्यक्ति दिनुभएको छ । कुन जनताको मन्त्रीमा पहुँच हुने किसिमको हामीकहाँ त्यस्तो राजनीति कहाँ छ र सभामुख महोदय ? खाना पकाउने ग्यास बजारबाट लुकाईसकेको छ सभामुख महोदय सरकारले त्यसको कडा अनुमगन गर्ने कि नगर्ने ?”

प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहिबार  ७ : ४९ बजे