कोरोना नियन्त्रणका लागि कांग्रेस डडेल्धुराका सभापतिद्वारा सरकारलाई ३ करोड सहयोग



काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि तीन करोड रुपैयाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन् । प्रदेश सांसद समेत रहेका मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपैयाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन् । मल्ल डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताए ।

उनले कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदासम्म आफूले सरकारबाट पाउने सम्पूर्ण सेवा–सुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताए ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  १२ : ०१ बजे