कोरोनाको डरले बिरामी लिन मान्दैनन अस्पताल : उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृत्यु



कोरोना भाइरस संक्रमणको त्रासका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृत्यु भएको छ ।

कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए ।

बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदियो ।  छोरी लक्ष्मी गुरुङ राईकाअनुसार न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकमा चिकित्सकले उपचार गर्न नमानेको लक्ष्मीको भनाइ छ । उनकाअनुसार त्यसपछि नोबेल पु¥याइएकोमा उपचारका क्रममा दिउँसो लगभग ३ः३० बजेतिर नरदेवीको मृत्यु भयो ।

नरेदवीको दाजु शिवकुमार लिम्बू तुम्बा महालक्ष्मी–५ का वडा अध्यक्ष हुन् ।

अस्पतालले सामान्य ज्वरो, रुघाखोकी लागेका र जटिल समस्या भएका बिरामीलाई पनि कोरोनाको शंका गरेर लिन अस्वीकार गरिरहेका छन् । जसका कारण सहज रुपमा उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आएकोमा आम नागरिकहरुले चिन्ता ब्यक्त गर्न थालेका छन ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ९ : २० बजे