काठमाडौं मंसिर, १९–
नेपाल प्रहरीले एसिया प्यासिफिक समिटका पाहुनाको सुरक्षालाई ध्यान दिएर माइतीघरमा प्रदर्शनकारीमाथि बल प्रयोग भएको र त्यहीवेला पोस्टर च्यातिएको प्रतिक्रिया दिएको छ ।
तर, समिटसँग सरोकार नै नभएको पोखरामा पनि पोस्टर च्यातिएका छन् । पोखरामा त बैदामका डिएसपी नवीन कार्कीले पोस्टर च्यातेर कच्याककुचुक पारेको तस्बिर प्राप्त भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कार्कीलाई सोधिएको थियो, ‘पोस्टरबाट शान्तिसुरक्षामा के असर प–यो ?’ उनले भने, ‘मैले आफूखुसी पोस्टर च्यातेको होइन, त्यही दिन जिल्ला सुरक्षा समितिको बैठक थियो । बैठकले दिएको निर्देशन कार्यान्वयन गरेको हुँ । योभन्दा बढी म बोल्न चाहन्नँ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले पनि सकेसम्म पोस्टर टाँस्न नदिन निर्देशन दिएको स्विकारे । ‘हामीले पोस्टर टाँस्न नदिन भनेका थियौँ, तर सिपाहीले उल्टो बुझेछन् । टाँसिसकेपछि च्यातिदिएछन्,’ उनले भने । तर, रानाले भनेजस्तै सिपाही मात्रै होइन, डिएसपी नै पोस्टर च्यात्न खटिएका थिए । त्यसमाथि विरोध गर्न, नारा लगाउन र पोस्टर टाँस्न पाउनु जनताको लोकतान्त्रिक र संवैधानिक अधिकार हो । गृहका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘विरोध गर्न र पोस्टर टाँस्न कानुनले नै अधिकार दिएको छ, त्यसलाई निषेध गर्ने कुनै नीति छैन ।’