नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि फेरि बस्ने गरी स्थगित भएको छ । आजको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ सभापति देउवालाई बुझाएको पत्र र कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ।
पौडेल समूहले गत असोज १२ गते सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसहित पार्टी कार्यालयमा विरोध पत्र दर्ता गराएको थियो ।आजको बैठकमा नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बैठकमा सहभागी एक नेताले न्यू सञ्चारलाई बताए ।
बैठकमा बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा . शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत, केनद्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, अर्जुननरसिंह केसी, डा . मिनेन्द्र रिजाल, आन्नदप्रसाद ढुंगाना, ज्ञानेन्द्रबहादुर कार्की, डा . रामशरण महत, बलबहादुर केसी, रमेश लेखक, डा . चन्द्र भण्डारी, गगन थापालगायतका नेताहरु सहभागी थिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि दिउँसो १ बजे पुन :बस्ने बताइएको छ ।








