भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा



भारतका स्थल सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल आइपुगेका छन्। नरवाणे भारतीय सेनाको विशेष विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

तीन दिने भ्रमणमा नेपाल आएका नरवाणेले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

यसअघि नक्सालमा रहेको होटल मेरियटमा बस्ने कार्यक्रम मिलाइएको भए पनि सुरक्षाका कारण अन्तिम समयमा नरबाणेको बसाई ताहाचलस्थित होटल सोल्टीमा सारिएको छ ।

बिहीबार औपचारिक भेटवार्ता सकिएपछि शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । सुरक्षाका कारण नरबाणेको भ्रमणका लागि आवतजावत हेलिकोप्टरबाट हुने जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ७ : ११ बजे