नेपाली काँग्रेसको ६४ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको १०८ निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो ।
हाल सम्म ६४ जिल्लाको क्रियाशिल सदस्यतामाथी छनबिन समितिले छलफल र सहमती गरिसकेको समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए । न्यू सञ्चारसग कुरा गर्दै पौडेलले भने “अहिलेसम्म ६४ जिल्लाको क्रियाशिल सदस्यता लगभग फाइनल भएको छ ,त्यस मध्य एकाध जिल्लाका केहि निर्बाचन क्षेत्रको पनि काम बाकी छ, ति सहित बाकी रहेका १३ वटा जिल्लाको सदस्यतालाई अन्तिम रुप दिन हामी काम गरिरहेका छौ ।”
बाकी रहेका १३ वटा जिल्लाको पनि यही महिना भित्रै क्रियाशिल सदस्यता विवाद टुङ्गो लगाउने गरी समितिले काम गरिरहेको पौडेलले बताए ।बाकी काम सक्न समितिले द्रूतगतिमा काम गरिरहेकाले असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुंगो लगाइने समितिका प्रवक्ता पौडेलले बताए ।
बिबाद रहेका ठाउहरुमा क्रियाशिल सदस्यता विवाद टुङ्गो लगाउन पार्टिका शिर्ष नेताहरुबिच कार्यबिधी र मापदण्डमा सहमती भइसकेकोले त्यही मापदण्डमा टेकेर समितिले काम गरिरहेको पनि नेता पौडेलले जानकारी दिए ।
बिशेस गरी २ नम्बर प्रदेशका जिल्लाहरुको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न बाकी रहेको बुझिएको छ ।२ नम्बर प्रदेशका केहि जिल्लामा हरुमा जटिल प्रकारको बिबाद रहेको पनि बुझिएको छ ।
कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि अगामी साउन १२ गते वडा समितिको अधिवेशन, साउन १६ गते गाउँ नगर समितिको अधिवेशन, साउन २० गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।
आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।










