आज हरिशयनी एकादशी, तुलसी रोप्दै देउवापत्नीले दिइन् शुभकामना



काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ । भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसीको पूजा गरेकी छिन्।

तुलसी रोपेर उनले सबैलाई हरिशयनी एकादशीको शुभकामनासमेत दिएकी छिन्। ‘जय तुलसी माता’ !

आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिईयो । हरिशयनी एकादशीको मंगलमय शुभकामना,ु सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्।

 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ९ : ५२ बजे