एमाले नेता एवं पूर्व मन्त्री साहले गठन गरेको ‘आइटी आर्मी’ के हो ?



नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । साहको पहलमा गठन भएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।

आइटी आर्मीको स्थानिय तहदेखी केन्द्रिय तहसम्म कमिटी हुने छ । जसको केन्द्रीय कमिटीमा १५१ सदस्य रहनेछन । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले बताए ।

आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने बताइएको छ । आइटी आर्मीको घोषणापत्र र कार्यविधिसमेत तयार भएको बताइएको छ । यसले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख छ ।

मंगलबार लोकन्थलीको दिव्यश्वरी पार्टी प्यालेसबाट घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतका एमाले नेताहरूको सहभागिता रहने आयोजकले बताए ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ३ : २५ बजे