महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीसँग राखे यस्ता माग, के पुरा गर्लान त देउवा



प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

३ साउनमा प्रतिनिधिसभामा विश्वासको मत पाएका देउवाले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’

अब सरकारमा जाने कि नजाने भन्नेमा भने नेताहरुको फरक–फरक मत आएको छ । केहीले सरकारमा जान नहुने मत राखेका छन् भने कतिपयले सरकारलाई समर्थन गरेपछि जस अपजस बोल्नुपर्ने भएकाले सरकारमा जानुपर्ने मत राखेका छन् । तर सत्तारुढ कांग्रेस र प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै निर्णय नभएको एक नेताले बताए ।

यो पक्षले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइ, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाले मिलेर काम गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए ।

कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठन, सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ३ : ३६ बजे