नेकपा एमालेका नेता महेश बस्नेतले एमाले नेता प्रभु साहले घोषणा गरेको ‘आईटी आर्मी’ बहिस्कार गरेका छन् । बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको हो ।
मंगलबार ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेकै बेला शाहले भक्तपुरमा आईटी आर्मी घोषणा गरिरहेका थिए । आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।
त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ । आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन ।
साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन । साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए ।








