प्रधानमन्त्री देउवालाई यादव पक्षले राख्यो यस्तो माग, के होला त पुरा ?



जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग गरेका छन् । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार आफूहरूको लाइन स्पष्ट रहेपनि यसबारे पार्टीको औपचारिक निर्णय नभएको प्रस्ट पारेका हुन्।

यादव पक्षका नेताहरूका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो लागेको छैन। ‘अध्यक्षज्यू सरकारमा गए हामीले एक उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय पाउने सम्भावना धेरै हुन्छ। तर अध्यक्षज्यू सरकारमा जानुभएन भने परराष्ट्र हामीले पाउँदैनौं,’ ती नेताले भने, ‘त्यसैले अध्यक्षज्यू सरकारमा जानुपर्छ भन्ने हाम्रो लाइन हो।’

यादव पक्ष निर्वाचन आयोगको आधिकारिकताको फैसलापछि सरकारमा जाने भएको छ। आयोगले पार्टीका कार्यकारिणी समितिका सदस्य र सांसदहरूको ‘हेड काउन्ट’ गर्ने भएको छ।

आयोगले ‘हेड काउन्ट’ गर्नुअघि नै सरकारमा गए सरकारमा जान नपाएकाहरू तत्काल ठाकुर पक्षमा जाने सम्भावना भएकाले यादव पक्ष आयोगको निर्णय कुर्नतिर लागेको हो।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहिबार  १० : २८ बजे