एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय, दबाबका लागि पुनः छलफलमा



एमालेको एकता जोगाउन विघटित कार्यदलका सदस्यहरु फेरी सक्रिय भएका छन् । आइतबार एमाले सांसदहरूले दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बोलाएर छलफल गर्न लागेका हुन् ।

पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयास गरिरहेका छन् । उनीहरूलाई नै थप दबाब र सल्लाह दिनका लागि सांसदहरूले बैठक बोलाएको बताएका छन् ।

एमालेको विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

दोस्रो तहका यी नेताहरूले पार्टी विवाद समाधानका लागि निरन्तर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालसँग संवाद गरिरहेका छन् । तर, उक्त संवादको सार्थक निष्कर्ष भने अझै आउन सकेको छैन ।

‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्यो । होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्यो । त्यसकै लागि विघटित कार्यदलका सदस्यहरूसँग छलफल गर्न लागेका हौँ,’ सांसद कृष्णप्रसाद दाहालले भने ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  १२ : ३१ बजे