स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त



प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब पछि कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्रीमात्र नियुक्त गरेको बुझिएको छ। आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन् ।

राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्। भोजपुरका श्रेष्ठ लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन् भने उनको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ। उनी प्याब्सनको अध्यक्ष पनि थिए।

राज्यमन्त्री श्रोष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ लिने कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ३ : ४९ बजे