जसपाका नेताहरु आयोगमा, सनाखत सुरु



जनता समाजवादी पार्टी (जसपा)का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सोमबार जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको आयोग पुगेर हस्ताक्षर सुरु गरेका हुन् ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरिया लगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएकाले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन सक्ने बताए ।

यस्तै आयोगले जसपाका नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ ।

आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनलाई आयोमा ल्याउने बताइएको हो । २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।

जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

 

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ११ : ३६ बजे