बालुवाटारमा बसेको सत्तापक्ष गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय



बालुवाटारमा बसेको सत्तापक्ष गठबन्धनले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्नुका साथै सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारेमा पनि छलफल भएको हो ।

यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।

यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी भएका थिए भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

यस्तै फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन् । सरकारले मङ्गलबार उनीहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुन् । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ ।

वामपन्थी राजनीतिबाट अघि बढेका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढेका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाएका छन् । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार भए । त्यतिबेला शेरचनले जिते भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बने।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ११ : ३६ बजे