पूर्व नेकपा माओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालत गएका छन् । सांसद पदमा पुनर्बहालीको माग गर्दै उनिहरु बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका हुन् ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।
कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि उनिहरु सर्वोच्च अदालतमा गुहार माग्न पुगेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् । सर्वोच्च अदालतले रिट बिहीबारका लागि पेसीमा चढाएको छ ।








