नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिलाई बाँकी विवाद टुंगाउन २४ घण्टाको समय पाएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो र
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको बताए ।
मंगलबार रमेश लेखक नेतृत्वको छानविन समितिले पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए । समितीले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ ।
क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।








