एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डेले केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शनिबार अपराह्न वरिष्ठ नेता नेपाललाई भेटेपछि नेता रावल र पाण्डेले अध्यक्ष ओलीलाई नेपालको प्रस्ताव लिएका भेट्न गएका हुन् ।
रावल र पाण्डेसँगको भेटमा अध्यक्ष ओली र नेपाल दुवैले आफूले अघि सार्दै आएका अडान नछोड्ने बताएका थिए । नेता नेपालले ओलीसँग समान हैसियतमा मात्रै एकता हुने अडान अघि सार्दै आएका छन् भने ओली दोस्रो दिन तयार भए पनि समान हैसियत दिन तयार छैनन् ।
नेता नेपाल र अध्यक्ष ओलीलाई भेटेर फर्किएका नेता सुरेन्द्र पाण्डेले परिस्थितिमा कुनै परिवर्तन नआएको बताए ।
‘परिस्थितिमा कुनै परिवर्तन आइसकेको छैन । यद्यपि हामीले दुवै नेतालाई भेटेर सहमतिका लागि जोड दिएका छौ’, पाण्डेले भने, ‘आज पनि कार्यदलका सदस्यहरुबीच छलफल गर्ने कि भन्ने छ, छलफल भइरहेकाले समय तय भैसकेको छैन ।’
दोस्रो तहका नेताहरूको एकता प्रयास कायमै रहेका बेला अध्यक्ष ओली र नेता नेपालले एकअर्काप्रति आरोप/प्रत्यारोप गर्न छाडेका छैनन् । शनिबार मात्रै अध्यक्ष ओलीले आफू पक्षीय कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपाललाई आन्दोलन विरोधी, देशद्रोही र अपराधी भन्दै उनलाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । त्यसै बेला वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्छु की भन्ने जालझेल र षडयन्त्रका तानावाना नबुन्न चेतावनी दिएका थिए ।
नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् ।








