सरकारले कर्णाली प्रदेश प्रमुखमा पूर्वप्रदेश प्रमुख दुर्गाकेशर खनाललाई बनाउने तयारी गरेको छ । गठबन्धनको नयाँ सरकारले प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएसँगै प्रदेश प्रमुखमा खनालको दोहोरिने सम्भावना बढेको हो ।
कर्णालीमा खनाल प्रदेश प्रमुखमा दोहोरिने चर्चा चुलिए पनि खनालले भने तलब मात्रै खान प्रदेश प्रमुख नहुने बताएका छन् ।
‘प्रदेश प्रमुख राष्ट्रपतिपछिको संवैधानिक पद हो । संविधानमा नै प्रष्टसँग कार्यकाल तोकिएको छ’ खनालले भने, ‘तर प्रधानमन्त्रीले चाहेको समयमा कार्यकाल पूरा नहुँदै राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुख नियुक्ति र खारेज गर्ने परम्परा बस्नु राम्रो भएन । यो सुधार हुन्छ भने राज्यले दिएको अवसर प्रयोग गर्न तयार छु ।’
उनले प्रदेश प्रमुखका लागि आफूलाई अफर आए पनि अहिल्यै तयार भने नभएको बताए । उनले संघीयतालाई कुनै दल वा पार्टी विशेष हेर्न नहुने बताउँदै देश र जनताको भलो हुने रुपमा हेर्न सबैलाई सुझाव दिए ।
ओली सरकारले कर्णाली प्रदेश प्रमुखमा देउवा सरकारले नियुक्त गरेका दुर्गाकेशर खनाललाई हटाएर सुदूरपश्चिमका गोविन्द प्रसाद कलौनीलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्ति दिएको थियो ।








