प्रचण्डसँग नारायणकाजीको बोलचाल बन्द



नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टी बढेको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउन नसकेपछि पार्टीभित्र असन्तुष्टी बढेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्‍ठले अध्यक्ष प्रचण्डले आफूलाइ जानकारी नगराई बैठक स्थगित गरेको भन्दै सार्वजनिक रुपमा नै आपत्ति जनाएका छन् । वर्तमान सरकारमा श्रेष्ठले माओवादी पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहेका छन् ।

सत्ता गठबन्धनभित्र श्रेष्ठलाई मन्त्रीमण्डलमा सहभागी गराउन स्वयं प्रधानमन्त्री शेरबहादुर देउवासमेत इच्छुक छैनन् । यहि विषयमा माओवादीभित्र नारायणकाजी श्रेष्ठले आफुलाइ बाइपास गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डसँग चित्त दुखाएको र सिधा बोलचाल समेत बन्द भएको स्रोतको दाबी छ ।

मन्त्री बन्‍ने दौडमा रहेका श्रेष्ठलाई रोक्न गोरखाका माओवादी नेताहरु प्रचण्ड निवासमै पुगेको समेत चर्चा छ । उनीहरुले श्रेष्ठलाई भन्दा अर्का सांसद हरि अधिकारीलाई मन्त्री बनाउन दबाब दिएको बुझिएको छ ।

प्रचण्डलाई दबाब दिनेमा श्रेष्ठसहित देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरि अधिकारी, सुदन किराँती, महेश्वर गहतराज, अन्जना विसङ्खेलगायत छन् ।

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  ११ : ५० बजे