गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे छानबिनका लागि विभिन्न तहमा अध्ययन भइरहेको बताएका छन् । मंगलबार दार्चुला घटनाबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै गृहमन्त्रीले भारतको धार्चुला प्रशासनलाई पत्रसमेत पठाइएको बताएका हुन् ।
महाकाली नदी तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले तुइन काट्दा दार्चुलाका ३३ वर्षका युवक जयसिंह धामी बेपत्ता भएका थिए। उक्त घटनाबारे धामीसँगै गएका अन्य तीन जनासँग सोधपुछ गर्ने काम भइरहेको गृहमन्त्री खाँणको भनाइ छ।
उनले भने, ‘धार्चुला प्रशासनलाई पत्र पठाइएको छ। जयसिंह धामीसँग गएका तीन जनासँग सोधपुछ भइरहेको छ।’
हालसम्म धामीको अवस्था अज्ञात रहेको र नेपाल र भारत दुवैतर्फ खोजी कार्य भइरहेको उनले प्रतिनिधिसभालाई जानकारी गराए।
उनले भने, ‘जिल्ला प्रहरी कार्यालयले खोजतलासको काम गरिरहेको छ। उहाँको शरीर फेला परेको छैन। भारत र नेपाल दुवैतर्फ खोजी कार्य भइरहेको छ।’








